काठमाडौं । अनन्त तामाङले इन्जुरी समयमा गोल फर्काउँदा नेपालले बंगलादेश विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।
ढाकामा सम्पन्न खेलमा शुरुवाती अग्रता पनि नेपालले लिएको थियो । खेलको २९औं मिनटमा रोहित चन्दले आकर्षक गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । यद्यपि बंगलादेश भने दोस्रो हाफको शुरुवाततिरै खेलमा फर्कियो ।
खेलको ४६औं मिनटमा स्टार मिडफिल्डर हम्जा चौधरीले ओभरहेड किकमार्फत आकर्षक गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरी स्थितिमा ल्याएका थिए । लगतै बंगलादेशको पेनाल्टीको अवसर पायो । त्यसलाई पनि ५०औं मिनटमा हम्जाले नै गोलमा परिणत गरे ।
एक समय २–१ को स्थितिमा रहेर पछि परेको नेपाल हारको संघारमा समेत पुगेको थियो । तर खेलको अन्तिमतिर इन्जुरी समयमा अनन्त तामाङले गोल गर्दै नेपालको सम्भावित हार टार्नुका साथै खेललाई रोमाञ्चक बराबरीको नतिजामा समेत ल्याएका थिए ।
नेपालले अब एएफसी एसियन कप छनौटतर्फ नोभेम्बर १८ तारीखका दिन मलेसियासँग खेल्ने कार्यक्रम रहेको छ ।