News इलाम: दमक भाङबारी स्पोर्टिङ क्लब झापा सेमिफाइनलमा
गोलनेपाल

दमक भाङबारी स्पोर्टिङ क्लब झापा, इलामको धार्मिक तथा पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १८औँ आत्मानन्द गोल्ड कप २०८२ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

माङसेबुङ–५ स्थित आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा राष्ट्रिय खेलाडीसमेत समावेश गरेको दमक भाङबारीले आयोजक युथ अफ माङसेबुङलाई रोमाञ्चक ४–३ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूर्ण भएको छ।

दमकका आशिष लावती, निश्चल वस्नेत, विवेक पौडेल र नवयुग श्रेष्ठले गोल गरे। आयोजकका नाम्साङ लावती, विवेकहाङ लिम्बू र गोली लिम्बूले गोल गरे। खेलको ‘म्यान अफ द म्याच’ दमकका विवेक पौडेल घोषित भए।

खेलको चौथो मिनेटमा आशिष लावतीले गोल गर्दै दमकलाई अग्रता दिलाए, नवौं मिनेटमा निश्चल वस्नेतले २–० बनाए। ३०औँ मिनेटमा विवेक पौडेलले गोल गर्दै अग्रता ३–० पुर्याए।
दोस्रो हाफमा आयोजकले फर्कने प्रयास गर्दै ३९औँ मिनेटमा नाम्साङ लावतीमार्फत ३–१ बनायो, तर ४३औँ मिनेटमा नवयुग श्रेष्ठले ४–१ गरे।
६३औँ मिनेटमा विवेकहाङ लिम्बू र ७०औँ मिनेटमा गोली लिम्बूले गोल गरे पनि आयोजक ४–३ को हारबाट उम्किन सकेन।

प्रतियोगिताका सेमिफाइनल खेल शनिबार र आइतबार हुनेछ।

शनिबार सिरिजंगा स्पोर्टिङ क्लब मोरङ र दुधे यूथ क्लब झापा भिड्नेछन्। आइतबार दोस्रो सेमिफाइनलमा लेटाङ फुटबल क्लब मोरङ र दमक भाङबारी स्पोर्टिङ क्लब झापा प्रतिस्पर्धा गर्नेछन्।

Post Comments