चपरहट्टी । प्रतिस्पर्धात्मक जितका साथ आयोजक सिद्धार्थ क्लब, चपरहट्टी रुपन्देहीमा जारी तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो क्वाटरफाइनलमा सिद्धार्थले न्यु होराइजन स्पोर्टस क्लब, बुटवललाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउने पहिलो टोली बन्न सफल भएको हो । ््
तिलोत्तमा नगरपालिका–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको खेलमा शुरुवाती अग्रता न्यु होराईजनले लिएको थियो । सिद्धार्थका विवेक थापाले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्दा खेलमा न्यु होराइजनले अग्रता बनाएको थियो ।
तर, खेलमा रोमाञ्चक पूनःरागमन गरेको सिद्धार्थका लागि सुरज चौधरीले बराबरी गोल फर्काए भने कप्तान अंकित रासकोटीले दोस्रो तथा निर्णायक गोल गर्दै घरेलु टोलीको रोमाञ्चक जित पक्का गरे ।
खेलमा सिद्धार्थका निर्णायक गोलकर्ता अंकित रासकोटी म्यान अफ दि म्याच समेत बने । प्रतियोगिता अन्तर्गत मंसिर १२ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल जनज्योति क्लब, डिंगरनगर र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक युवराज थापाले जानकारी दिए ।
सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १९ गतेका दिन हुनेछ ।