News रुपन्देहीमा प्रथम भैरव कप शुरु, समपुर्णको विजयी शुरुवात
सुरज राना मगर

पक्लिहवा । भैरव युवा क्लब, सिद्धार्थनगर–१, नयाँगाउँ, रुपन्देहीको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम भैरव कप खुला नकआउट फुटबल प्रतियोगितामा समपुर्ण युवा क्लब, सुपौलीले विजयी शुरुवात गरेको छ ।

सिद्धार्थनगर–१ स्थित पक्लिहवा माविको खेलमैदानमा भएको उद्घाटन खेलमा समपुर्णले आयोजकले भैरव युवा क्लबलाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ समपुर्णका लागि कप्तान दिनेश गुरुङले गोल गरे भने पराजित भैरवका लागि सरुन थापाले गोल गरेका थिए । टाईब्रेकरमा भने समपुर्ण ४–१ ले विजयी बन्यो ।

खेलमा समपुर्णका गोलरक्षक सरोज पुन म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै समपुर्ण सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर २१ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र अञ्चलपुर युवा क्लब, अञ्चलपुरबीच हुने खेल संयोजक तेजेन्द्र (शक्ति) गुरुङले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष उज्ज्वल पोखरेल, आयोजक भैरव युवा क्लबका अध्यक्ष यम बहादुर थापा लगायतले संयुक्त रुपमा गरेका थिए ।

आउँदो मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा रुपन्देही र नवलपरासीका गरी कुल आठ टोलीहरु सहभागि रहेको खेल संयोजक तेजेन्द्र्र गुरुङले बताए ।

Post Comments