बोक्से । रोमाञ्चक जितका साथ यहाँ सम्पन्न तेस्रो वडा अध्यक्ष गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि आरआइएफसी काठमाडौंले जितेको छ ।
फाइनलमा आरआइएफसीले कोशी प्रदेश प्रहरी, बिराटनगरलाई ४–३ ले हराउँदै उपाधि उचालेको हो । आरआइएफसीको जितमा सुसन तामाङ र असिम राईले समान दुई–दुई गोल गरे । उता पराजित कोशी प्रदेश प्रहरीका लागि भने रमेश राजवंशीले दुई गोल गर्दा थप एक गोल सनम अधिकारीले गरे ।
विजेता बनेको आरआइएफसीले उपाधिसहित नगद १,०११११ रुपैयाँ हात पार्यो भने उपविजेता कोशी प्रदेश प्रहरीले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
आरआइएफसीका असिम राई फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । त्यस्तै अन्य विधागततर्फ उदियमान खेलाडी फ्युजन फुटबल क्लबका सन्दिप पोखरेल बन्दा उत्कृष्ट गोलरक्षक कोशी प्रदेश प्रहरीका सुरज शाक्य चुनिए । त्यस्तै उत्कृष्ट डिफेन्डर आरआइएफसीका बिकु राई बन्दा उत्कृष्ट मिडफिल्डर आरआइएफसीका उमेश कार्की बने ।
उत्कृष्ट प्रशिक्षक पनि आरआइएफसीका जेम्स राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार फ्युजन फुटबल क्लबका प्रताप राईले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने कोशी प्रदेश प्रहरीका रमेश राजवंशी घोषित भए ।
वडा युवा तथा खेलकुद विकास समिति, त्रियुगा नगरपालिका–१०, बोक्से, उदयपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल दश टोलीहरुले सहभागिता जनाएका थिए ।