
काठमाडौं (एजेन्सी) । इङलिस फुटबलमा आफूलाई निखारिरहेकी नेपाली मुलकी इङलिस फुटबल खेलाडी अस्मिता आले इङल्याण्डको चर्चित फुटबल क्लब टोटेनह्याम हटसपरमा आवद्ध भएकी छिन् ।
लण्डन क्लबले उनलाई शुक्रबार राती अनुवन्ध गरेको कुरा घोषणा गरेको थियो । रिपोर्टअनुसार टोटेनह्याममा उनी दुई बर्षका लागि अनुबन्धित भएको बताइएको छ ।
पछिल्लो सिजन इङल्याण्डको शिर्ष महिला फुटबल लिग एफए वुमन्स सुपर लिगमा एस्टन भिल्लाका लागि खेल्दै आफ्नो खुबी देखाईसकेकी अस्मिता रक्षापंक्तिमा कलात्मक शैलीमा डटेर खेल्ने गर्छिन् ।
हाल १९ बर्षमा पाईला चालिरहेकी अस्मिताले आफ्नो फुटबल करियर एस्टन भिल्लाबाटै शुरु गरेकी थिईन् । युथ एकेडेमी हुँदै १८ बर्षको उमेरमा भिल्लासँग व्यवसायीक सम्झौता गरेकी अस्मिता गत सिजन लिगमा प्लेयर अफ द सिजन समेत घोषित भएकी थिईन् ।
🏴 ✍️ We are delighted to announce the signing of Asmita Ale.
— Tottenham Hotspur Women (@SpursWomen) August 6, 2021
The defender joins us on a contract until 2023 and will wear the number 13 shirt.
Welcome to the Club, Azzy! 👊 pic.twitter.com/g7DYJJQDu1
भिल्लालाई सन् २०१९–२० को सिजनमा एफए वुमन्स सुपर लिग २ बाट शिर्ष लिगमा बढुवा गराउन अस्मिताले पनि अहम भूमिका खेलेकी थिईन् ।
इङल्याण्डको युथ टोलीमा पनि आफ्नो स्थान सुरक्षित गरिसकेकी अस्मिताले इङल्याण्ड यु–१९ टोलीको प्रतिनिधित्व गर्दै सन् २०१९ मा स्कटल्याण्डमा सम्पन्न युइएफए यु–१९ युरोपियन च्याम्पियनसिप समेत खेलेकी थिईन् ।
टोटेनह्याममा आवद्ध भएपछि अस्मिताले नयाँ क्लबका लागि खेल्न आफू निकै आत्तुर र उत्साहित रहेको बताएकी छिन् । “स्पर्सका लागि खेल्न निकै उत्साहित छु । नयाँ प्रशिक्षक, नयाँ खेलाडी सार्थीहरुसँग टिमको नयाँ सदस्य हुन पाउँदा खुशी लागेको छ । क्लबका लागि खेल्न हतारिएको छु । मेरो नयाँ क्लबलाई थप सफलता र उचाईंमा पुर्याउन सहयोग गर्नेमा म आशावादी पनि छु ।”