News बीवाइसी आहा! रारा पोखरा गोल्डकपको फाइनलमा
उमेश पुन

पोखरा । पाहुना टोली बीवाइसी, मिनेसोटा, अमेरिका यहाँ जारी २२औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बीवाइसीको यो लगातार तेस्रो फाइनल समेत हो । यसअघि अमेरिकी टोलीले झापाको दमकमा सम्पन्न प्रथम जय हुमागाई मेमोरियल गोल्डकपको फाइनल खेलेको थियो र उपाधि समेत उचालेको थियो । साथै बीवाइसीले झापा मै सम्पन्न अर्को एक प्रतियोगिताको पनि फाइनल खेलेको थियो ।

बिहीबार पोखरा रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा बीवाइसीले उत्कृष्ट लयमा देखिएको चर्च ब्वाईज युनाइटेड एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो ।

पहिलो हाफ कै इन्जुरी समयमा रोजिन प्रजापतिले हेडमार्फत गरेको एक मात्र गोल पाहुना टोलीलाई फाइनलमा पुर्याउन निर्णायक पनि बन्यो । खेलको अन्तिमतिर चर्च ब्वाईजका आशिष चौधरीले रातो कार्ड खाँदा टोली दश खेलाडीमा खुम्चिएको थियो । साथै, जारी प्रतियोगिताको यो पहिलो रातो कार्ड समेत थियो ।

निर्णायक गोलकर्ता प्रजापति नै खेलको म्यान अफ द म्याच पनि चुनिए । उनले पुरस्कार वापत नगद ८ हजार र ट्रफी हात पारे । बीवाइसीले अब फाइनलमा पौष २३ गतेका संकटा क्लबसँग उपाधिका लागि भिड्नेछ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments