
झापा एफ.सी. ले एएफसी ए लाइसेन्स प्रशिक्षक चेतन घिमिरेलाई नेपाल सुपर लिग सिजन २ को लागि सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
झापा एफ.सी. ले आफ्नो सामाजिक सञ्जालबाट चेतन घिमिरे अनुबन्ध गरेको जानकारी दिएको हो । नेपाली फुटबलका परिचित नाम चेतन घिमिरेले शहीद स्मारक ए डिभिजन लिग २०२३ मा नेपाल पुलिस क्लबलाई तेस्रो स्थान दिलाउनमा निर्णायक भूमिका खेलेका थिए ।
उनको नियुक्तिले टोलीको तयारी र प्रदर्शनमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । झापा एफ.सी.का अध्यक्ष अर्पणविक्रम खड्काले घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेकोमा खुशी व्यक्त गरे ।
"खेलाडी र प्रशिक्षक दुवैको रूपमा चेतनको अनुभव हाम्रो टोलीका लागि अमूल्य हुनेछ। नेपाली फुटबलको विकासप्रतिको उनको समर्पण हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल खान्छ, र हामी विश्वस्त छौं कि उनले हाम्रो च्याम्पियन हुने लक्ष्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछन्।", अध्यक्ष अर्पणविक्रम खड्काले भने।
झापा एफ.सी. सँग जोडिन पाउँदा चेतन आफैं पनि उत्साहित छन् ।
"झापा एफ.सी. सँग जोडिन पाउँदा र यो भूमिकाबाट नेपाली फुटबलको विकासमा योगदान गर्न पाउँदा म निकै खुशी छु। नेपाली फुटबल विकासमा लामो समय काम गरेका व्यवस्थापन टिम र यसको भिजन मन परेकोले झापासँग जोडिएको हु । नेपाल सुपर लिगमा टोलीलाई च्याम्पियन बनाउन सक्दो मेहनत गर्नेछु ।", चेतनले भने।
"चेतन घिमिरे एक युवा, ऊर्जावान निकै मेहनेती प्रशिक्षक हुन, उनको आगमनले टिमलाई ठूलो मद्दत पुग्नेछ । पछिल्लो समयमा चेतनले आफुलाई नेपाली फुटबलमा उदाउँदो प्रशिक्षकका रूपमा प्रमाणित गरेका छन्। उनले झापा एफ.सी. लाई पहिलो प्रयासमा नै लिग जिताउन उल्लेखनिय भुमिका खेल्ने छन् भन्ने पूर्ण विश्वास लिएका छौँ ।" क्लबका महासचिव तथा प्रवक्ता सुजन गौतमले चेतनलाई सहायक प्रशिक्षकमा नियुक्त गर्नु पछाडीको कारण र उनीबाट क्लबले राखेको अपेक्षा बताए ।
झापा एफ.सी.ले आफ्नो मुख्य प्रशिक्षक भने नियुत्त गर्न बाँकी छ ।