
बिरगंज । बुधबार मात्रै मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि जितेको त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी प्रथम बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले संकटा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै लगातार दोस्रो उपाधि नजिक पुग्न सफल भएको हो । आदर्शनगर रंगशालामा भएको खेलको २२औं मिनटमा रिपु भुलनले गरेको एक मात्र गोल आर्मीलाई फाइनल पुर्याउन निर्णायक बन्यो ।
आर्मीले यही कार्तिक २५ गते हुने फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस फुटबल क्लबको सामना गर्नेछ । पुलिसले बुधबार नै भएको पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लबलाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।
भेट्रान सिटी क्लब, बिरगंजको आयोजना तथा बिरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।