News सदिपको पाँच गोलसँगै सञ्जिवनी क्वाटरफाइनलमा
सुरज राना मगर

सुपौली । फराकिलो जितका साथ सञ्जिवनी युवा क्लब, बागधुरा यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा सञ्जिवनीले भेट्रान्स रुपन्देही–११ लाई शून्यका विरुद्ध ६ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

तिलोत्तमा नगरपालिका–१४ स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा सञ्जिवनीका लागि सदिप केसीले ह्याट्रिकसहित एक्लै पाँच गोल गरे । थप एक गोल भने जमिर मियाँले गरे ।

खेलमा सञ्जिवनी कै निशान न्यौपाने म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत मंसिर १७ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल साविक विजेता नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

Post Comments