
रानीटार (पाँचथर) । यहाँ जारी पाँचौ फिदिम नगर कप फुटबलको उपाधि पाँचथर फुटबल क्लबले उचालेको छ । पाँचथर एफसीका लागि यो पहिलो उपाधि हो ।
फिदिम ७ रानीटारस्थित बराजु खेलमैदानमा आज भएको फाइनल खेलमा झापाको शनिश्चरे एफसीसँग १-० गोलको साँघुरो जित निकाल्दै पाँचथरले उपाधि रक्षा गरेको हो ।
पाँचथर एफसी पाँच महिनाअघि स्थापना भएको फुटबल क्लब हो । उसले किरात गोल्डकप आयोजना गरेर अन्तिम चारसम्म स्थान सुरक्षित गरेको थियो भने ताप्लेजुङमा पनि अन्तिम चारमै खुम्चिनु परेको थियो ।
पाँचथरको जितमा पारस कार्कीले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफको १६औँ मिनेटमा गरेका गोल नै उपाधि रक्षाका लागि निर्णायक बनेको हो । झापाली टोली भने पहिलोपटक पहाडी जिल्लामा सहभागिता जनाएर उपविजेता बन्यो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पाँचथरका मिराक खजुम भए । यस्तै, पाँचथरकै पारस कार्की म्यान अफ दी म्याच र सर्वाधिक गोलकर्ता झापाका प्रदिप बुढाथोकी भए। उनले प्रतियोगितामा ५ गोल गरेका थिए ।