News न्यु राईज क्वाटरफाइनलमा
सुरज राना मगर

ओमसतिया । संघर्षपुर्ण जितका साथ न्यु राईज युथ क्लब, बभनी जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको तेस्रो क्वाटरफाइनलतर्फ न्यु राईजले फर्साटिकर युवा क्लब, फर्साटिकरलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्यसअघि ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ न्यु राईजका लागि इन्द्र भण्डारीले गोल गरे भने फर्साटिकरका लागि मुकेश कुँवरले पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने न्यु राईजले फर्साटिकरमाथि ४–२ को जित निकाल्न सफल भयो । खेलमा न्यु राईजका इन्द्र भण्डारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत २ गते शुक्रबारको चौथो प्रिक्वाटरफाइनल खेल आहना फुटबल क्लब, बुटवल र डिवाइसी, सियारी बीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

Post Comments