बिर्तामेड । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक पूर्वेली युवा क्लब निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स फुटबल क्लबमाथि ९–१ को फराकिलो अन्तरको जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
आयोजकको जितमा कृष्ण शाक्य एक्लैले ह्याट्रिकसहित पाँच गोल गरे । त्यस्तै मित्र बस्नेतले दुई गोल गरे भने अंकुर खड्गी र सुमन श्रेष्ठले थप एक–एक गोल गरे । आयोजकका कृष्ण शाक्य खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २५०० र ट्रफी हात पारे ।
यसअघि क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं र राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले शुभकामना व्यक्त गरेका थिए । सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा क्लबका महासचिव विकास बस्नेतले स्वागत गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए । कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने प्रतियोगिता संयोजक टेकराज तिलिङले जानकारी दिए ।
क्लबका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठ स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् । उपविजेताको पुरस्कार टुबोर्ग बियरले उपलब्ध गराएको हो । १५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित पूर्वेली युवा क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक