News अन्तर्राष्ट्रिय म्याचका लागि दशरथ रंगशाला 'अयोग्य'
गोलनेपाल

काठमाडौं । एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले अन्तर्राष्ट्रिय फुटबल म्याच खेलाउनका लागि दशरथ रंगशाला अयोग्य रहेको खबर नयाँपत्रिकाले प्रकाशित गरेको छ । रंगशालाको स्तर अन्तर्राष्ट्रिय मापदण्डको नभएपछि नेपालले खेल्ने विश्वकप छनौटको घरेलु खेलहरु पनि नहुने निश्चित भएको छ ।

फिफा विश्वकप छनौटतर्फ नेपालले आउँदो जुन २४ तारीखका दिन युएईसँग घरेलु म्याच खेल्ने कार्यक्रम छ । तर, एएफसीको यो निर्णयसँगै नेपालले घरेलु मैदानमा खेल्ने अवसर फेरि गुमाएको छ । यसअघि नेपालले गत मार्चमा भएको बहराईन विरुद्धको घरेलु म्याच पनि उतै बहराईनमा खेलेको थियो ।

स्मरण रहोस, एएफसीका प्रतिनिधीहरुले गत बैशाखमा दशरथ रंगशालाको निरीक्षण गरेका थिए । निरीक्षण पश्चात उनीहरुले पठाएको रिपोर्ट कै आधारमा एएफसीले एन्फालाई पत्राचार गरी दशरथ रंगशाला अन्तर्राष्ट्रिय म्याच खेल्न अयोग्य रहेको बताएको हो ।

एएफसीले दशरथ रंगशालाको दुबो स्तरीय नभएको, माटोको सतह नमिलेको, फ्लड लाईटको गणस्तर नरहेको र सुरक्षाको ग्यारेन्टी नरहेको जस्ता कमजोरी औंल्याएर अन्तर्राष्ट्रिय म्याच खेल्न अयोग्य रहेको बताएको छ ।

यसअघि शुक्रबार मात्रै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफू मातहत रहेको दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीलाई पत्राचार गरेको थियो । तर, एएफसीले शनिबार नै रगशाला खेल्न अयोग्य रहेको र अन्तर्राष्ट्रिय म्याचका लागि तटस्थ मैदान खोज्न जवाफ पठाएको थियो ।

फिफा विश्वकप छनौटतर्फ समूह एचमा रहेको नेपालले यमनसँगको एक खेल मात्र घरेलु मैदानमा खेलेको थियो । समूह एचमा नेपालसँगै यूएई, यमन र बहराईन रहेका छन् । चार खेलहरु खेलिसकेको नेपालले अहिलेसम्म एउटा खेल जित्न सकेको छैन ।

Post Comments