News सहज जितका साथ बागमती सेमिफाइनलमा
गोलनेपाल

गाईघाट । सहज जित निकाल्दै बागमती युवा क्लब, सर्लाही यहाँ जारी दोस्रो उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शुक्रबार भएको चौथो क्वाटरफाइनलमा बागमतीले रोयल स्र्पोटिङ क्लब, झापालाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । बागमतीको जितमा अनिता राना मगर, सेनु परियार, इशा राना मगर र सलिना तामाङले गोल गरिन् ।

खेलमा बागमतीकी इशा राना मगर प्लेयर अफ द म्याच घोषित भईन् । प्रतियोगिता अन्तर्गत असार १५ गते शनिबारको पहिलो सेमिफाइनल खेल धरान महिला फुटबल क्लब, सुनसरी र नमो बुद्ध युथ क्लब, सप्तरी बीच हुने आयोजकले जानकारी दियो ।

उदयपुर जिल्ला फुटबल संघको आयोजना तथा त्रियुगा नगरपालिका, गाईघाट, उदयपुरको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार १८ गतेका दिन हुनेछ ।

Post Comments