
काठमाडौं (एजेन्सी) । उपाधिका दुई दावेदार टोली तथा पूर्व विजेताद्वय स्पेन र फ्रान्स जारी युइएफए युरोको सेमिफाइनल मै भिड्ने भएका छन् । प्रतियोगिताको शुरुवाती दुई क्वाटरफाइनलतर्फ स्पेनले आयोजक जर्मनी र फ्रान्सले पोर्चुगललाई हराउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् ।
जर्मन शहर स्टुटगार्टमा भएको पहिलो क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीको चुनौति २–१ ले समाप्त पार्यो । खेलको दोस्रो हाफतर्फ ५१औं मिनटमा डेनियल ओल्मोको गोलबाट स्पेनले खेलमा अग्रता लिएको थियो । तर अन्तिमतिर ८९औं मिनटमा फ्लोरियन विजले जर्मनीका लागि बराबरी गोल फर्काएका थिए । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको ११९औं मिनटमा मिकेल मेरिनोले स्पेनका लागि दोस्रो र निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।
त्यस्तै ह्यामबर्गमा भएको दोस्रो क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगललाई टाईब्रेकरमा ५–३ ले हरायो । निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने फ्रान्सले नतिजा आफ्नो पक्षमा पार्दै अन्तिम चारमा प्रवेश गर्न सफल भयो । अब ९ जुलाईका दिन हुने पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स फाइनल प्रवेशका लागि भिड्ने छन् ।