News खस्यौली गौतम बुद्ध कपको क्वाटरफाइनलमा
सुरज राना मगर

पिपरिचापा । प्रभावशाली जितका साथ खस्यौली फुटबल क्लब, बुटवल यहाँ जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको तेस्रो प्रिक्वाटरफाइनलमा खस्यौलीले चाँदनी युवा क्लब, दानापुरलाई ४–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । खस्यौलीको जितमा सबी गुरुङले दुई गोल गरे भने सुरज मल्ल र अनुज छन्त्यालले थप एक–एक गोल गरे ।

उता पराजित चाँदनीका लागि सुशन राहादी र शम्भु घर्तीले गोल फर्काएका थिए । खेलमा चाँदनीले थप एक गोल फर्काउने अवसर गुमायो । चाँदनीले पाएको पेनाल्टी अवसरलाई दिपेन सेनले सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी प्रहारी खस्यौलीका गोलरक्षक कुशल सुनारले जोगाएका थिए ।

खेलमा दुई गोल गरेका खस्यौलीका सबी गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भदौ ८ गते शनिबारको खेल वाणगंगा वेलफेयर सोसाइटी, कपिलवस्तु र जनज्योति क्लब, डिंगरनगर बीच खेल संयोजक रोशन पुनले जानकारी दिए ।

गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।

Post Comments