News मकवानपुर जिल्ला लिग आजदेखि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आज शुक्रबारदेखि मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । हेटौडामा रहेको २ वटा मैदान हेटौंडा–११ स्थित सिमलटार खेल मैदान र हेटौडा ६ मा रहेको गौरीटार खेल मैदानमा खेलहरु हुनेछन् ।

सिमलटार खेलमैदानमा भने निर्माण भए यता पहिलोपटक खेल हुन लागेको हो । साथै मैदानको उद्घाटन पनि आजै गरिने आयोजक मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामाले बताए । त्यस्तै सिमलटार खेल मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता न्यू डाँफे युवा क्लब र महावीर क्लब भिड्ने कार्यक्रम समेत छ ।

प्रतियोगितामा सहभागि कुल २८ टिमहरु चार समूहमा समूहमा विभाजन गरिएको छ । बिभिन्न कारणले सञ्चालन हुन नसकेको लिग यस बर्ष गर्न पाउँदा खुशी लागेको एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताए । यसबाट नयाँ खेलाडी उत्पादन हुने पनि उनको विश्वास थियो । लिग बिजेताले बागमती प्रदेश लिग फुटबलमा सहभागिता जनाउन पाउने पन अध्यक्ष लामाले जानकारी दिए ।


प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले पचास हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागततर्फका उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यस्तै प्रतियोगिताको समापन असोज ९ गतेका दिन हुनेछ ।

Post Comments