News लालीगुराँसलाई प्रथम ग्रीनलाईन दशैं कपको उपाधि
सुरज राना मगर

काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड दशैंको अवसर पारी युएईमा रहेका प्रवासी नेपालीहरुबीच भएको प्रथम ग्रीनलाईन दशैं कप फुटबल प्रतियोगिताको उपाधि लालीगुराँस फुटबल क्लबले जितेको छ ।

कडा प्रतिस्पर्धाका बीच सम्पन्न फाइनलमा लमजुङ फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै लालीगुराँस च्याम्पियन बनेको हो । अबुधाबी स्थित अल घजल स्पोर्टस कम्प्लेक्समा भएको खेलमा लालीगुराँसका लागि सुजन भोम्जनले एक मात्र निर्णायक गोल गर्दै लालीगुराँसलाई विजेता बनाउन निर्णायक भूमिका खेले ।

ग्रीनलाईन ट्राभल्सको मुख्य प्रायोजन तथा माउण्ट ८८४८ रेष्टुरेण्ट र हिमाल रेमिटको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेता बनेको लालीगुराँसले उपाधिसहित नगद ५ हजार युएई दिराम हात पार्यो भने उपविजेता लमजुङ एफसीले ३ हजार दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ लालीगुराँसका बिरेन्द्र सारु उत्कृष्ट गोलरक्षक बन्दा लमजुङ एफसीका फिन्जो जिरीले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै लमजुङ कै कप्तान बिशन श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १००–१०० दिराम र ट्रफी हात पारे ।

एफसी आइक्याड, अबुकाबीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

Post Comments