News
सहज जितका साथ रामधुनी सेमिफाइनलमा

प्रकाशपुर । सहज जित हात पार्दै रामधुनी इक्राही फुटबल क्लब, रामधुनी सातौं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रकाश माविको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा रामधुनीले खारखोला फुटबल क्लब, चतरालाई शुन्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
रामधुनीको जितमा पुजन चौधरीले ह्याट्रीकले गर्दा थप एक गोल सन्दिप लिम्बुले गरे । प्रतियोगिता कै पहिलो ह्याट्रीक गरेका रामधुनीका पुजन चौधरी म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत असोज १६ गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल बुद्ध एकता क्लब, बेलका-३, उदयपुर र चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।
प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २२ गतेका दिन हुनेछ ।

Post Comments