News अन्तिम चारमा आयोजक झरना
सुरज राना मगर

कुञ्जलापुर । रोमाञ्चक जितका साथ आयोजक झरना स्पोर्टस क्लब, कुञ्जलापुर जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा झरनाले कपिलवस्तु–११ लाई २–१ ले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको हो । खेलमा झरनाका जितेश गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत असोज १६ गते बुधबारको पहिलो सेमिफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र जनज्योति क्लब, डिंगरनगर बीच हुने खेल संयोजक विजय पुनले जानकारी दिए ।

स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।

Post Comments