News क्रिकेटर्सलाई दोस्रो नव जिवन कपको उपाधि
सुरज राना मगर

तिलोत्तमा । नव जिवन युवा क्लब, तिलोत्तमा–६, दश नम्बरको आयोजनामा सम्पन्न भएको दोस्रो नव जिवन कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि क्रिकेटर्स फुटबल क्लबले जितेको छ ।

बुधबार भएको उपाधि भिडन्तमा क्रिकेटर्सले नविन ज्योति क्लबलाई १–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । क्रिकेटर्सका लागि अमन मगरले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको क्रिकेटर्सले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता नबिन ज्योतिले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विधागततर्फ क्रिकेटर्सका डेविड थापा उत्कृष्ट गोलरक्षक चुनिए । नबिन ज्योतिका अनिल क्षेत्रीले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पार्दा क्रिकेटर्स कै सुजल चिडी मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी नेपाल रोडा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष गोविन्द प्रसाद भुसाल, आयोजक क्लबका अध्यक्ष केशव प्रसाद भुसाल र खेल संयोजक कृष्ण भुर्तेल लगायतले पुरस्कृत गरेका थिए ।

सो असरमा बोल्दै आयोजक क्लबका अध्यक्ष केशव भुसालले प्रतियोगिताको दोस्रो संस्करण पनि सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए । साथै प्रतियोगितालाई आउने बर्षहरुमा अझै भव्य गर्ने योजना रहेको पनि सुनाए ।

Post Comments