
शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा आयोजक डासाब युवा क्लबको चुनौती पन्छाउँदै पाहुना टोली इलाम तिनघरेको न्यू भिजन युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो हाफमा १-० गोलको अग्रता जोगाउन नसक्दा आयोजकले इलामसँग बराबरीमा रोकिनु परेको थियो । अन्ततः खेलको छिनोफानो सडन डेथबाट भएको हो । सडन डेथमा आयोजकमाथि इलामले ६-५ गोलअन्तरमा जित दर्ता गर्यो ।
खेलमा आयोजकका हरि मगरले गोल गर्दै अग्रता दिलाएका थिए । तर, केही समयपछि इलामका मौसम राईले सम्झनलायक गोल गरेर टिमलाई बराबरीमा फर्काए । उत्कृष्ट गोल गरेका मौसम राई प्लेयर अफ दी म्याच बन्दै एक हजार पाँच सय पाउन सफल भए ।
आइतबार उपाधिको दाबेदार टोली शनिश्चरे एफसीले झापा एफसी राजगढसँग पहिलो सेमिफाइनल खेल खेल्ने छ । यस्तै, इलामले सैनिक ११ बिर्तामोडसँग सोमबार प्रतिस्पर्धा गर्ने खेल संयोजक बेनुकुमार राईले जानकारी दिए । २३ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजार र आकर्षक ट्रफी पाउने छ ।