
काठमाडौं । दोस्रो जहरसिंहपौवा कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भिखाटार युथ क्लब, बिएफजी एकेडेमी र शंखरापुर–४ ले जित हात पारेका छन् ।
दिनको पहिलो खेलमा भिखाटारले शंखरापुर–लप्सेलीलाई १–० ले हरायो । भिखाटारको जितमा बिशाल गुरुङले एक मात्र निर्णायक गोल गरे । खेलमा म्यान अफ दि म्याच भने भिखाटारका गोलरक्षक हिसान श्रेष्ठ चुनिए ।
दोस्रो खेलमा बिएफजी एकेडेमीले मनकामना एकेडेमीलाई समान १–० को अन्तरले हरायो । बिएफजी एकेडेमीका लागि एरिक बोल्वेले पेनाल्टीमार्फत एक मात्र निर्णायक गोल गरे । खेलमा विजयी टोलीका गोलरक्षक यतिराज गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै तेस्रो खेलमा शंखरापुर–४ ले भोडा हुले युथ क्लबलाई ६–१ को फराकिलो अन्तरले हरायो । शंखरापुरका लागि समिर खड्काले दुई गोल गरे भने सुजित खड्गी, सोनम श्रेष्ठ, सनिस श्रेष्ठ र जेनिस श्रेष्ठले समान एक–एक गोल गरे । पराजित भोडा हुलेका लागि भने आवास युगलले एक मात्र गोल फर्काए । खेलमा शंखरापुरका समिर खड्का म्यान अफ दि म्याच चुनिए ।
जहरसिंह पौवा युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ ।