
रामपुर । २८ बिगाहा युवा क्लब, नवलपुर र युनाइटेड युथ क्लब, नवलपरासी यहाँ जारी दोस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको पहिलो क्वाटरफाइनलतर्फ २८ बिगाहाले होराइजन क्लब, स्याङ्जालाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
रामपुर–७ किसानबारी स्थित ज्योतिपुञ्ज खेलमैदानमा भएको निर्धारित समयतर्फ २८ बिगाहाका लागि कप्तान सदिप क्षेत्रीले गोल गरेका थिए भने होराईजनका लागि गणेश हमालले गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने २८ बिगाहाले ३–२ ले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा २८ बिगाहाका गोलरक्षक सरोज तामाङ प्लेयर अफ दि म्याच चुनिए ।
त्यस्तै आइतबार नै भएको दोस्रो क्वाटरफाइनलतर्फ युनाइटेड युथले आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुरलाई पेनाल्टी शुटआउट मै हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । त्यसअघि दुवै टोलीले उस्तै १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ युनाइटेड युथका लागि समिराज थोकरले गोल गरेका थिए भने ज्योतिपुञ्जका लागि कप्तान बिशाल मल्लले बराबरी गोल फर्काएका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने युनाइटेड युथले ज्योतिपुञ्जलाई ४–३ ले निराश बनाउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । खेलमा युनाइटेडका गोलरक्षक रोशन थापा प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत कार्तिक ५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल देवदह ब्वाईज, रुपन्देही र त्रिशक्ति युथ क्लब, काठमाडौं बीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।
ज्योतिपुञ्ज युथ क्लब, रामपुर–७, किसानबारी, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ हजार ३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने कार्तिक १० गतेका दिन हुने समेत अध्यक्ष गौतमले बताए ।