
कोल्हुवा । संघर्षपुर्ण जितका साथ नमुना युवा क्लब, कावासोती यहाँ जारी सातौं राईनो गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ नमुनाले फर्साटिकर युवा क्लब, रुपन्देहीलाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । राईनो रंगशालामा भएको खेलमा शुरुवाती अग्रता भने फर्साटिकरले लिएको थियो । खेलको ५०औं मिनटमा शिव सुवेदीको गोलबाट फर्साटिकरले अग्रता बनाए तापनि ६०औं मिनटमा रिचार्ड विल्सनले नमुनाका लागि बराबरी गोल फर्काएका थिए ।
टाईब्रेकरमा भने नमुनाले ५–३ को जित निकाल्दै क्वाटरफाइनल स्थान पक्का गर्यो । खेलमा नमुनाका पदम भट्टराई म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत कार्तिक ६ गते मंगलबारको खेल नमोबुद्ध युवा क्लब, सप्तरी र चित्लाङ फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
राईनो क्लब, मध्यविन्दु(४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो कार्तिक १४ गतेका दिन हुनेछ ।