
धरान । शनिबारदेखि शुरु भएको २५औं बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा चर्च ब्वाईज युनाइटेड क्लबले विजयी शुरुवात गरेको छ ।
धरान रंगशालामा भएको उद्घाटन खेलमा चर्च ब्वाईजले नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै विजयी शुरुवात गरेको हो । दोस्रो हाफको तेस्रो मिनेटमा सन्तोष खत्रीले गरेको एक मात्र गोल चर्च ब्वाईजलाई जित दिलाउन निर्णायक गोल बन्यो ।
चर्च ब्वाईजला निर्णायक गोलकर्ता सन्तोष खत्री नै खेलको म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार बापत नगद १० हजार र ट्रफी हात पारे ।
यो जितसँगै चर्च ब्वाईज सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ २० गतेको दोस्रो क्वाटरफाइनल खेल आयोजक धरान फुटबल क्लब, सुनसरी र युनाइटेड खर्साङ फुटबल क्लब, भारतबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिव कृष्ण बस्नेल्र लगायतले गरेका थिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।