
झापा । जलथल एफसी झापाको अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी स्व लिम्बूनी ठूली स्मृति कप २०८१ को फाइनलमा प्रवेश गरेको छ ।
स्थानीय कैदले प्राकृतिक रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली रेडहर्ष एफसी इलामलाई १-० गोलको झिनोअन्तरले पराजित गर्दै जलथल एफसी उपाधि नजिक पुगेको हो । जलथलका लागि रोशन थाम्सुहाङले गोल गरेका हुन् । निर्णायक गोल गरेका रोशन प्लेयर अफ दी म्याच बन्दै नगद ३ हजार ५ सय पाउन सफल भए ।
वर्षौंअघि भुटानी शरणार्थी शिविरमा बस्दै आएकी लिम्बूनी ठूलीको स्मृतिमा च्यारिटी युथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो । लिम्बूनी ठूलीको नामले परिचित आइतमाया सुब्बाको गतवर्ष पुनर्वासका क्रममा अमेरिका गएपछि निधन भएको थियो ।
उनका छोरा बाबी सुब्बा र परिवारले स्मृति कपका लागि प्रायोजन गरेका हुन् । बाबी सुब्बा यतिबेला पुनर्वासका क्रममा अमेरिकामा रहँदै आएका छन् । दिवंगत आमालाई अर्जुनधारा खुदुनाबारीबासीमाझ जिवन्त राख्दै नेपाली फुटबलको विकासमा सानो सहयोग गरेको उनको भनाइ छ । बाबी आफैँ पनि फुटबल खेलाडी र प्रशिक्षकसमेत हुन् ।