News लिग चरणका अन्तिम खेल बराबरीमा सकिए, सुपर लिगमा पुग्ने टोलीहरुको पनि टुंगो लाग्यो
गोलनेपाल

धरान । जारी कोशी प्रदेश प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो चरणका अन्तिम दुई लिग खेलहरु बराबरीमा टुंगिएका छन् ।

पहिलो खेलमा बुईपा–११ फुटबल क्लब, खोटाङ र धरान फुटबल क्लब, सुनसरीले २–२ गोलको बराबरी खेले । धरान रंगशालामा भएको खेलमा बुईपाका लागि डिकेन राई र मिलन राईले गोल गरे । धरानका लागि भने बिपिन श्रेष्ठ र सबिन राईले गोल गरे । खेलमा बुइपाका डिकेन राई म्यान अफ दि म्याच बने ।

अर्को खेलमा रेडहर्ष फुटबल क्लब, इलाम र धाइजन चारआली फुटबल क्लब, झापाले पनि समान २–२ गोलको बराबरी खेले । रेडहर्षका लागि साँगे शेर्पा र बिनोद धमलाले गोल गरे । धाइजन चारआलीका लागि भने सागर रसाइली र पुजन थापाले गोल गरे । खेलमा रेडहर्षका बिनोद धमला म्यान अफ दि म्याच चुनिए ।

शुक्रबारको खेलहरु सम्पन्न भएसँगै सुपर लिग चरणमा प्रवेश गर्ने चार टोलीहरुको टुंगो लागेको छ । जसअनुसार समूह ए बाट पाँचथर युनाइटेड फुटबल क्लब, पाँचथर, समुह बी बाट गाईघाट फुटबल क्लब, उदयपुर, समूह सी बाट देउराली युवा क्लब, धनकुटा र समूह डी बाट बुइपा–११ फुटबल क्लब, खोटाङ सुपर लिग चरणमा प्रवेश गरेका छन् ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको सुपर लिग चरणका खेलहरु फागुन ४ गते आइतबारदेखि शुरु हुने आयोजकले जनाएको छ ।

Post Comments