News मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
रमेश समदर्शी

झापा । फागुन तेस्रो सातादेखि आयोजना हुने ‘मेचीनगर गोल्डकप’को लोगो आज सार्वजनिक गरिएको छ । काँकरभिट्टामा हुने गोल्डकपको लोगोमा हात्तीको मस्कट समावेश गरिएको छ ।

आयोजकले शनिबार काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजना गरेको कार्यक्रममा गोल्डकपको लोगोसँगै व्यानर पनि सार्वजनिक गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), पूर्वप्रदेश सांसद एवम् गोल्डकप मुल आयोजक समिति संयोजक श्रीप्रसाद मैनाली, गोल्डकप आर्थिक समिति संयोजक विमल आचार्यलगायतका अतिथिले लोगो तथा गोल्डकपको ब्यानर सार्वजनिक गरेका हुन् ।

लोगोमा हात्तीको मस्कट प्रयोग गरिएको छ भने मस्कटको निलो पृष्ठभूमिमा मेचीनगरको भूगोल समेटिएको छ । यस्तै, छेउमा चन्द्र सूूर्यको नक्सा समावेश छ । हात्ती पूर्वी नेपालकै पहिचानका रुपमा स्थापित छ । जंगली हात्तीकै कारण मेचीको तिरमा रहेका पूर्वका गाउँ, सहर देश विदेशमा परिचित छन् ।

लोगो, गोल्डकपको व्यानर तथा थेम सङ सार्वजनिक कार्यक्रमको अवसरमा बोल्दै जिल्ला फुटबल संघका अध्यक्ष आलेले छोटो समयका बीच आयोजित गोल्डकप सफल बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । मुल आयोजक समितिका कोषाध्यक्ष गंगालाल गुरुङले आजीवन सदस्य, संस्थापक सदस्यमार्फत आर्थिक सहयोग संकलनको कार्य अघि बढाइएको बताए । आजीवन सदस्य बन्न १० हजार रुपैयाँ बुझाउनु पर्ने बताइएको छ । जसको लागि तीन सय बढीले नाम दर्ता गराइसकेको जानकारी दिइएको छ ।

गोल्डकपमा सहभागी टिमको सन्दर्भमा चर्ज ब्वाइज काठमाण्डौं र एनआरटी, मोरङ, भुटान, सिक्किम लगायतका टिमसँग सहभागिताको विषयमा समन्वय भइरहेको आयोजकले बताएको छ । आयोजक संस्थाका सल्लाहकार समिति संयोजक समेत रहेका गुरुङका अनुसार पूर्व राष्ट्रिय खेलाडी मीन बस्नेत संयोजक रहने गरी झापा जिल्ला फुटबल संघ अध्यक्ष आले र महासचिव शेरबहादुर बस्नेत (सुन्दर) सदस्य रहेको तीन सदस्यीय टिम व्यवस्थापन समिति निर्माण गरिएको छ ।

कुल ८० लाख नगद खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजकमार्फत नगद १५ लाख एवम् सह–प्रायोजकमार्फत नगद ३ लाख प्राप्त हुने सोअवसरमा जानकारी दिइयो । गोल्डकपको संरक्षक रहेको मेचीनगर नगरपालिकाले नगद २५ लाख उपलब्ध गराउने जनाएको छ ।

Post Comments