
दुहबी । यहाँ सम्पन्न सातौं दुहबी मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ७ ले जितेको छ । फाइनलमा वार्ड नम्बर ७ ले वार्ड नम्बर १० लाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि उचाल्न सफल भयो ।
दुहबी–५, सुनसरी स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा वार्ड नम्बर ७ का लागि दुवै गोल अंकित चौधरीले गर्दै टोलीको जितमा नायक बने ।
विजेता बनेको वार्ड नम्बर ७ ले उपाधिसहित नगद १,२५,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता वार्ड नम्बर १० ले ७५,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
वार्ड नम्बर ७ कै देबा कुमार रिसिदेव म्यान अफ दि फाइनल म्याच बने । त्यसवापत उनले नगद २ हजार र ट्रफी हात पारे । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक वार्ड नम्बर ७ कै सुलभ विश्वास चुनिए । उत्कृष्ट डिफेन्डर पनि वार्ड नम्बर ७ कै पारस चौधरी बन्दा उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर १० का प्रला कुमार माझी बने ।
त्यस्तै उत्कृष्ट फरवार्ड वार्ड नम्बर ७ का अनिल चौधरी चुनिदा उत्कृष्ट प्रशिक्षक वार्ड नम्बर ७ कै राम सुन्दर थन्दार बने । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
सर्वाधिक गोलकर्ताको पुरस्कार भने वार्ड नम्बर ७ का अंकित चौधरीले हात पारे । प्रतियोगिताभरि कुल ४ गोल गरेका अंकितले नगद ६ हजार र ट्रफी हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि अंकित नै बने । त्यसवापत उनले नगद ७ हजार र ट्रफी हात पारे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी दुहबी नगरपालिका, सुनसरीका नगरप्रमुख बेदनारायण गच्छदार लगायतले पुरस्कृत गरेका थिए ।
दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा सम्पन्न प्रतियोगितामा दुहबी नगरका कुल १२ वार्डका टोलीहरुले सहभागिता जनाएका थिए ।