News बगान युथ क्लब तेस्रो बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश
गोलनेपाल

बगान युथ क्लब कचनकवल झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा झापाली टोली बगानले सुनसरीको न्यू स्टार क्लबलाई ३–० गोलअन्तरले पराजित गर्यो।

बगानको जितका लागि दोस्रो हाफमा मिलन राईले २ तथा दिपेश श्रेष्ठले १ गोल गरे । खेलको ६२ औं मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि ६८ औं मिनेटमा दिपेश श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाए । ७२ औं मिनेटमा मिलन राईले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित शुनिश्चत गरे । खेलको प्लेयर अफ द म्याच बगान युथ क्लबका २ गोलकर्ता मिलन राई घोषित भए । उनले नगद ३ हजार र ट्रफी पाए । भोलिको पहिलो सेमिफाइनल खेल आयोजक बुट्टाबारी युनाइटेड क्लब र रेडहर्स एफसी इलामबीच हुने क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।

८ टिम सहभागी प्रतियोगिताको विजेतालाई २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेतालाई एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् । त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने आयोजक बुट्टाबारी युनाइटेड क्लबले जनाएको छ ।

Post Comments