
इलाम । यहाँ आयोजित दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधिका लागि फाइनल छिनोफानो आज ठूलो टुँडिखेलमा हुँदैछ ।
उपाधि रक्षाका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसी भिड्दैछन् । विभागीय डर्बी भिडन्तमा पहिलोपटक च्याम्पियन बन्ने होड रहने छ ।
आर्मीले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पाहुना टोली भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक क्लब ओएसिस इलामलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एपीएफले पहिलो खेलमा भारतको मध्य प्रदेशको मदर टेरेसा एफसी र सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
महिला फुटबलमा विभागीय टोली एपिएफ पावर हाउसको रूपमा चिनिन्छ । प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टिम एपीएफ जसले सबैभन्दा धेरै लिग जितेको छ । एपिएफबाट राष्ट्रिय टिमका पहिलो रोजाइका १० खेलाडी एकसाथ खेल्दैछन् ।
यता आर्मीले पनि राष्ट्रिय टिमको भरपर्दो खेलाडीहरू सहित नेपाली राष्ट्रिय टिमकी दोस्रो रोजाईको गोलरक्षक अञ्जना राना मगरलाई मैदान उतार्ने छ । आजको खेल दुवैलाई जित्नै पर्ने दबाब हुनेछ । अझ आर्मीको लागि खास हुनेछ, किनकि सधैँ आर्मीमाथि हाबी भएको एपिएफलाई इलामको मैदानमा हराउने रणनीतिमा हुने आर्मीका कोच कृष्णसिंह ठगुन्नाले प्रिम्याच कन्फेरेन्समा बताएका थिए।
एपिएफका कोच जिवेश पाण्डेले पनि फाइनल खेल रोचक हुने बताउँदै उपाधिकै लागि एपिएफ खेल्न तयार रहेको सुनाए । इलामको मैदान पनि अब परिचित हुँदै गएकाले समस्या नभएको सुनाउँदै उनले सहज तरिकाले खेलेर उपाधि रक्षा गर्ने दाबी गरेका छन् ।