News एएफसी यु–१७ एसियन कपः बलिया टोलीहरुको संघर्ष जारी
गोलनेपाल

काठमाडौं । साउदी अरेबियामा जारी एएफसी यु–१७ एसियन कपतर्फ केही बलिया र दावेदार मानिएका टोलीहरुको संघर्ष कायम छ ।

समूह बी तर्फ बलिया आँकिएका जापान र अष्ट्रेलियाले अपेक्षाकृत नतिजा निकाल्न सकेनन् । समूह चरणको दोस्रो खेलमा जापानले भियतनामसँग १–१ गोलको बराबरी खेल्दा अष्ट्रेलियाले युएईसँग ०–२ को हार बेहोर्न पुग्यो ।

यो नतिजापछि २ खेलबाट ४ अंक जोडेको जापान समूह बी को शिर्ष स्थानमा छ । ३ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने २ अंक जोडेको भियतनाम तेस्रो स्थानमा छ । एक अंकका साथ अष्ट्रेलिया पुछारमा छ । समूह बी बाट नकआउट चरणमा प्रवेश गर्ने चारै टोलीको सम्भावना कायम छ ।

अब समूह चरणको अन्तिम खेलमा १० अप्रिलका दिन जापानले अष्ट्रेलियाको सामना गर्दा सोही दिन भियतनामले युएईसँग खेल्नेछ । अन्तिम खेलको नतिजाबाटै समूह बी बाट नकआउट चरणमा प्रवेश गर्ने दुई टोलीहरुको टुंगो लाग्नेछ ।

त्यस्तै समूह सी बाट इण्डोनेसिया लगातार दुई जितका साथ एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ । र, यु–१७ विश्वकपमा पनि स्थान बनाउन सफल भएको छ । इण्डोनेसियाले आफ्नो दोस्रो खेलमा यमनलाई ४–१ ले हरायो । सोही समूहमा रहेको दक्षिण कोरियाले अफगानिस्तानमाथि ६–० को एकतर्फी जित निकाल्दै नकआउट चरण प्रवेशको सम्भावना कायम राख्यो ।

यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको इण्डोनेसिया शिर्ष स्थानमा छ । ३ अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा समान ३ अंक जोडेको यमन तेस्रो स्थानमा छ । अंकविहीन अफगानिस्तान भने पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा १० अप्रिलका लागि दक्षिण कोरिया र यमन भिड्ने छन् । यी दुई टोलीबीचको खेलको नतिजाले समूह सी बाट नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । त्यस्तै सोही इण्डोनेसियासँग अफगानिस्तानसँग खेल्नेछ ।

 

Post Comments