News उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि
गोलनेपाल

काठमाडौं । साउदी अरेबियामा सम्पन्न एएफसी यु–१७ एसियन कप फुटबल प्रतियोगिताको उपाधि उज्वेकिस्तानले जितेको छ । उज्वेकिस्तानले दोस्रोपटक योे उपाधि उचाल्न सफल भएको हो । यसअघि उज्वेक टोलीले सन् २०१२ को यु–१७ एसियन कप जितेको थियो ।

साउदी अरेबियाका तैफ शहर स्थित किंग फाद स्पोर्टस स्टेडियममा भएको फाइनलमा उज्वेकिस्तानले आयोजक साउदी अरेबियालाई २–० ले हराउँदै उपाधि चुम्न सफल बनेको हो । उज्वेकिस्तानका लागि ५१औं मिनटमा मुहम्मद खकिनोवले पेनाल्टीबाट पहिलो गोल गरे भने ७०औं मिनटमा सद्रिदिन खासानोवले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

स्मरण रहोस, प्रतियोगिताको समूह चरणतर्फ पनि उज्वेकिस्तान र साउदी अरेबिया एउटै समूह ए मा परेका थिए । त्यतिबेला पनि उज्वेकिस्तानले साउदी अरेबियामाथि ३–० को प्रभावशाली जित निकालेको थियो ।

उज्वेकिस्तानका सद्रुदिन खासानोव प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी बन्दै गोल्डेन बल हात पारे । उज्वेकिस्तान कै नेमातुल्लोह रुस्तमजोनोव उत्कृष्ट गोलरक्षक बन्दा उज्वेकिस्तानका असिलवेक अलिवले सर्वाधिक गोलकर्ता बने वापत गोल्डेन बुट प्राप्त गरे । आयोजक साउदी अरेबिया फेयर प्ले टिम बन्यो ।

फिफा यु–१७ विश्वकप खेल्ने आठ एसियन टोलीको टुंगो लाग्यो

त्यसैगरी एएफसी यु–१७ एसियन कप समापन हुनु अघि नै यस्सै वर्ष नोभेम्बेर ३ देखि २७ तारीखसम्म कतारमा हुने फिफा यु–१७ विश्वकप खेल्ने आठ टोलीहरुको पनि टुंगो लागिसकेको छ ।

प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गरेसँगै फिफा यु–१७ विश्वकपका लागि पनि सोझै छनौट हुने बताइएको थियो ।

जसअनुसार समूह ए बाट उज्वेकिस्तान र साउदी अरेबिया, समूह बी बाट जापान र युएई, समूह सी बाट इण्डोनेसिया र दक्षिण कोरिया तथा समूह डी बाट ताजिकिस्तान र उत्तर कोरिया यसै वर्ष हुने फिफा यु–१७ विश्वकपका लागि छनौट भएका छन् ।

Post Comments