News आयोजक मर्दिखोला युनाइटेडलाई राष्ट्रिय युथ फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

पैयुँ । मर्दिखोला युनाइटेड क्लब, पर्वतको आयोजनामा सम्पन्न राष्ट्रिय यु–१४ फुटबल प्रतियोगिताको उपाधि आयोजक मर्दिखोला युनाइटेड क्लबले जितेको छ । फाइनलमा एलजी एसोसिएशन, पाल्पालाई ३–१ ले हराउँदै आयोजक मर्दिखोला च्याम्पियन बनेको हो ।

आयोजक मर्दिखोलाको जितमा दिपक काफ्ले, संकल्प अधिकारी र श्याम परियारले गोल गरे । उता पराजित एलजी एसोसिएशनका लागि भने सुनिल थापाले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

विजेता बनेको मर्दिखोलाले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्दा उपविजेता एलसी एसिसोसिएशनले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै तेस्रो स्थान हासिल गरेको भुपु सैनिक, बैयटारीले ११,१११ रुपैयाँ हात पार्यो ।

त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक मर्दिखोलाका बिजन बस्याल चुनिए । उत्कृष्ट डिफेन्डर एलजीका प्रमोद क्षेत्री बन्दा उत्कृष्ट मिडफिल्डर मर्दिखोला कै दिपक काफ्ले बने । उत्कृष्ट फरवार्ड एलजीका सुनिल थापा चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार मर्दिखोलाका श्याम परियारले हात पारे ।

त्यसैगरी उत्कृष्ट स्थानीय खेलाडी मर्दिखोलाका सुसन थापा बन्दा उत्कृष्ट प्रशिक्षक मर्दिखोला कै अर्जुन बस्या बने । उदियमान खेलाडी मर्दिखोला कै रेमन थापा घोषित भए । त्यस्तै सर्वश्रेष्ठ खेलाडी मर्दिखोला कै श्याम परियार घोषित भए ।

विजेता, उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी पैयुँ गाउँपालिका, पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष यम कुमारी राना, वार्ड नम्बर ४ का अध्यक्ष टुकराम न्यौपाने र आयोजक क्लबका अध्यक्ष अर्जुन बस्याल लगायतले पुरस्कृत गरेका थिए ।

पैयुँ गाउँपालिका, पर्वतको संरक्षण र प्रवद्र्धनमा सम्पन्न भएको प्रतियोगितामा विभिन्न जिल्लाका कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments