News सहज जितका साथ एपिएफ सेमिफाईनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । हेटौडा उपमहानगरपालिकाको मुख्य प्रायोजन र मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १९ गतेबाट मकवानपुरमा सुरु भएको महिला गोल्डकपमा चौथो दिनको खेलबाट सहज जित निकाल्दै सशत्र प्रहरीको एपिएफ फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार गौरीटार रङ्गशालामा भएको प्रतियोगिता अन्तिम क्वाटरफाईनल खेलमा बिरगंज युथ स्पोर्टस एकेडेमीको महिला फुटबल टिमलाई १२–० ले पराजित गर्दै एपिएफ सेमिफाईनल प्रवेश गरेको हो।

एपिएफको जितमा रश्मि कुमारी घिसिङले ५ गोल सरु लिम्बुले २ गोल र सजनि थोकर,अनिता केसी सबिता राना,अनिता बस्नेत,मन्जलि योन्जनले एक एक गोल गरिन ।
५ गोल गरेकी रश्मि कुमारी घिसिङ नै खेलको प्लेयर अफ द म्याच हुन सफल भईन ।

उनले नगद १० हजार रुपैयाँ तथा ट्रफि प्राप्त गरिन् । प्रतियोगिता अन्तर्गत मंगलबार दुई सेमिफाईनल हुनेछ । पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लब र चितवन महिला फुटबल टिमको बिचमा बिहान ८ बजे हुनेछ भने दोस्रो सेमिफाईनल खेल एपिएफ एफसी र संकटा एफसीको बिचमा दिउसो ठिक ४ बजे खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ सहित शिल्ड मेडल प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन भने विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

Post Comments