Province 3 स्पेन नेशन्स लिगको फाइनलमा, उपाधिका लागि पोर्चुगलसँग भिड्ने
गोलनेपाल

काठमाडौं । रोमाञ्चक र थ्रीलर म्याचमा जित निकाल्दै स्पेन जारी युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । बिहीबार अबेर राती सम्पन्न दोस्रो सेमिफाइनलमा स्पेनले परस्पर प्रतिद्वन्द्वी फ्रान्सलाई ५–४ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

जर्मन शहर स्टुटगार्टमा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनले नै शुरुवाती अग्रता बनाएको थियो । खेलको २२औं मिनटमा निको विलियम्सले स्पेनका लागि शुरुवाती गोल गरे । लगतै २५औं मिनटमा मिकेल मेरिनोले स्पेनका लागि त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म स्पेनले २–० कै अग्रता कायम पनि राख्यो ।

तर, दोस्रो हाफ भने थप नाटकीय र रोमाञ्चक बन्यो । खेलको ५४ र ५५औं मिनटमा दुई मिनटको अन्तरालमा स्पेनका लागि लमिन यमल र पेड्रीले लगातार दुई गोल गर्दा स्पेनले आफ्नो अग्रता ४–० को स्थितिमा ल्यायो । यद्यपि खेलको ५९औं मिनटमा किलियन एम्बाप्पेले पेनाल्टीमार्फत फ्रान्सका लागि पहिलो गोल फर्काए ।

गोल खाएको धेरै समय बित्न नपाउँदै ६७औं मिनटमा लमिन यमलले व्यक्तिगत दोस्रो र स्पेनका लागि पाँचौं गोल थपे । जुन खेलको अन्तिममा निर्णायक गोल पनि बन्यो । उता खेलको ७९औं मिनटमा मेथिस चेर्कीले फ्रान्सका लागि दोस्रो गोल फर्काए । खेलमा फर्कने प्रयास गरेको फ्रान्सका लागि ८४औं मिनटमा डेनियल मोरेनोको आत्मघाती गोल उपहार बन्यो । त्यस्तै अन्तिमतिर इन्जुरी समयमा कोलो मुनीले स्पेनका लागि चौथो फर्काए तर, टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।

स्पेनले अब ८ जुनका दिन हुने फाइनलमा पोर्चुगलको सामना गर्नेछ । पोर्चुगलले बुधबार राती मात्र जर्मनीलाई २–१ ले हराउँदै फाइनल प्रवेश गरिसकेको छ । त्यस्तै जुन ८ तारीख कै दिन जर्मनी र फ्रान्स तेस्रो स्थानका लागि खेल्ने छन् ।

 

Post Comments