International घरेलु मैदान, अग्रता, स्तब्धपुर्ण हार र प्ले अफ
गोलनेपाल

काठमाडौं (एजेन्सी) । युरोपियन महारथी पोर्चुगलले आगामी बर्ष हुने फिफा विश्वकपमा स्थान बनाउन अब प्ले अफ खेल्नु पर्ने भएको छ । समूह ए तर्फ निर्णायक मानिएको अन्तिम खेलमा सर्बियासँग २–१ ले पराजित भएपछि पोर्चुगलले विश्वकपको टिकट काट्न प्ले अफमा भिड्नु पर्ने भएको हो ।

लिस्वोन स्थित घरेलु मैदानमा सम्पन्न खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको पोर्चुगललाई त्यो हार महँगो साबित भईदियो । खेलको दोस्रो मिनटमै रेनाटो सान्चेजको गोलबाट पोर्चुगलले खेलमा अग्रता बनाएको थियो । तर ३३औं मिनटमा डुसान टाडिकले सर्बियाका लागि बराबरी गोल फर्काउन सफल भए ।

त्यस्तै खेलको अन्तिमतिर ९०औं मिनटमा अलेक्जेन्डर मित्रोभिकले सर्बियाका लागि निर्णायक गोल गर्दा घरेलु मैदानमा पोर्चुगल स्तब्ध बन्न पुगेको थियो । सो खेलमा पोर्चुगललाई केवल बराबरी गरे मात्र पनि विश्वकपमा छनौट हुने पक्का थियो । तर घरेलु टोली त्यसमा चुक्न पुग्यो ।

यो जितसँगै सर्बिया विश्वकपका लागि पनि छनौट भएको छ । ८ खेलबाट २० अंक जोडेको सर्बिया शिर्ष स्थानमा छ । १७ अंक जोडेको पोर्चुगल भने दोस्रो स्थानमा छ । त्यस्तै समूह ए बाट आयरल्याण्ड, लक्जेम्बर्ग र अजरबैजान भने छनौट प्रतियोगिताबाट बाहिरिएका छन् ।

पोर्चुगलले सर्बियासँग बेहोरेको हारसँगै घरेलु मैदानमा उसको अपराजित यात्रामा पुर्णविराम लागेको छ । स्मरण रहोस, विश्वकप छनौटमा पोर्चुगल सन् २०१३ अक्टुबरदेखि अपराजित थियो । पोर्चुगलले अब मार्चमा हुने प्ले अफमा विश्वकपका लागि आफ्नो दोस्रो प्रयासलाई निरन्तरता दिनेछ ।

साथै आफ्नो अन्तर्राष्ट्रिय करियर कै सम्भवत अन्तिम विश्वकप खेल्ने तयारीमा रहेका सुपरस्टार क्रिष्टियानो रोनाल्डोका लागि पनि यो नतिजा निकै निराशाजनक बनेको छ ।

 

Post Comments
Advertisement Yamaha Nepal