International संघर्षपुर्ण जितका साथ क्रोएशिया क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । गत संस्करणको उपविजेता क्रोएशिया संघर्षपुर्ण जित हात पार्दै जारी कतार विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राती सम्पन्न प्रिक्वाटरफाइनलतर्फ क्रोएशियाले एसियाली प्रतिद्वन्द्वी जापानमाथि पेनाल्टी शुटआउटमा ३–१ को जित निकाल्दै क्वाटरफाइनल स्थान पक्का गरेको हो ।

खेलमा जापानले शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसक्दा अन्ततः निराश बन्न पुग्यो । खेलको ४३औं मिनटमा दाइजन माइदाको गोलबाट जापानले पहिलो हाफमा सनसनीपूर्ण अग्रता बनायो ।

तर दोस्रो हाफको ५५औं मिनटमा इभान पेरिसिकले क्रोएशियाका लागि बराबरी गोल फर्काएका थिए । निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेल पनि १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीतर्फ मोडिएको थियो ।

पेनाल्टीमा भने जापान निरीह देखियो । क्रोएशियन गोलरक्षक डोमिनिक लिवाकोभिकले जापानको तीन पेनाल्टी प्रहार जोगाउँदै टोलीको जितमा नायक बने । क्रोएशियाले अब क्वाटरफाइनलमा सोमबार राती नै हुने दक्षिण कोरिया र ब्राजील बीचको विजेतासँग खेल्नेछ ।

Post Comments