International शानदार ब्राजीलको दमदार जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी कतार विश्वकपमा उपाधिको बलियो प्रत्याशीका रुपमा हेरिएको ब्राजीलले नकआउट चरणतर्फ सोमबार अबेर राती शानदार जित हात पारेको छ ।

दोहा स्थित स्टेडियम ९७४ मा सम्पन्न खेलमा ब्राजीलले एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियामाथि ४–१ को उत्कृष्ट जित निकाल्यो ।

शुरुवातबाटै प्रभावशाली प्रदर्शन गरेको ब्राजीलले पहिलो हाफ मै चार गोल गरेको थियो । खेलको सातौं मिनटमा भिनिसियसले सुन्दर फिनिसिङ गर्दै साम्बा ब्वाईजलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको पाँच मिनट लगतै ब्राजीलले पेनाल्टीको अवसर पायो । जसलाई स्टार फरवार्ड नेमारले कुनै गल्ती नगरी गोलमा परिणत गरे र ब्राजीललाई २–० को स्थितिमा ल्याए । २९औं मिनटमा रिचार्लीसनले तेस्रो गोल थपे । लगतै ३६औं मिनटमा लुकास लिमाले चौथो गोल थप्दै ब्राजीलको जित लगभग पहिलो हाफ मै सुनिश्चित गरेका थिए ।

उता ७६औं मिनटमा पार्क सिउङ हो ले दक्षिण कोरियाका लागि एक गोल फर्काए तापनि एसियाली टोलीलाई खेलमा फर्कन अबेर भईसकेको थियो ।

ब्राजीलले क्वाटरफाइनलमा अब क्रोएशियाको सामना गर्नेछ । क्रोएशियाले सोमबार राती नै भएको अर्को प्रिक्वाटरफाइनलमा जापानलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

 

Post Comments