International फिफा यु–२० विश्वकपः दक्षिण कोरिया र उरुग्वे सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । गत संस्करणको उपविजेता समेत रहेको एसियाली राष्ट्र दक्षिण कोरिया र दक्षिण अमेरिकी टोली उरुग्वे जारी फिफा यु–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।

आइतबार राती सम्पन्न तेस्रो क्वाटरफाइनलतर्फ दक्षिण कोरियारले नाइजेरियामाथि शून्यका विरुद्ध १ गोलको जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । आयोजक अर्जेन्टिनालाई स्तब्ध पार्दै क्वाटरफाइनल प्रवेश गरेको नाइजेरियालाई हराउन दक्षिण कोरियाले एक्स्ट्रा समयसम्म संघर्ष गर्तुपर्यो ।

निर्धारित ९० मिनटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल एक्स्ट्रा समयतर्फ धकेलिएको थियो । जसको ९५औं मिनटमा चोई सुक ह्युनले एक मात्र निर्णायक गोल गर्दै दक्षिण कोरियाको सेमिफाइनल यात्रा पक्का गरेका थिए ।

त्यस्तै चौथो क्वाटरफाइनलतर्फ उरुग्वेले अमेरिकामाथि २–० को जित निकाल्यो । उरुग्वेको जितमा खेलको २१औं मिनटमा एन्डरसन डुआर्टेले पहिलो गोल गरे भने ५६औं मिनटमा जोशुआ वाइन्डरले आत्मघाती गोल गर्दै उरुग्वेको जित थप सहज बनाएका थिए ।

आइतबारको खेलहरुसँग सेमिफाइनल समिकरण पनि पूरा भएको छ । बिहीबार दुवै सेमिफाइनल खेलहरु हुनेछन् । जसअन्तरगत पहिलो सेमिफाइनलमा उरुग्वे र इजरायल भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा दक्षिण कोरियाले इटालीको सामना गर्नेछ ।

 

Post Comments