International 'मिसन मनिला'मा निराश नेपाल
गोलनेपाल

काठमाडौं । लगभग शून्य तयारीका बीच फिलिपिन्स पुगेको नेपाली फुटबल टोलीले बिहीबार मनिलामा सम्पन्न घरेलु टोली विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा झिनो अन्तरको हार बेहोरेको छ ।

मनिला स्थित रिजाल मेमोरियल स्टेडियममा भएको खेलमा १३६औं वरियताको घरेलु टोली फिलिपिन्सले १७४औं वरियतामा रहेको नेपालमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्यो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको शुरुवाततिर गोल खान पुगेको थियो । बक्सभित्रर नेपाली खेलाडीहरुले बलको नियन्त्रण गुमाउन पुग्दा जार्भे गायोसोले गरेको एक मात्र गोल फिलिपिन्सलाई जित दिलाउन निर्णायक बन्यो ।

खेलमा नेपालले पनि फर्कने अवसर पनि पाएको थियो । दोस्रो हाफमा अझै सुधारिएको प्रदर्शन गरेको नेपालका लागि अनन्त तामाङको हेडर विपक्षी पोष्टको बारमा लागेर फर्किनु दुर्भाग्यपुर्ण बन्यो । नेपालका अग्रपंक्तिका खेलाडीहरु बिमल, अन्जन, नवयुगहरु खासै जम्न नसक्दा नेपालले आक्रमणको जालो त्यति बुन्न सकेन ।

समग्रमा नेपालको साफ च्याम्पियनसिपको तयारी मनिलामा निराशाजनक हारसँगै टुंगिएको छ । अब नेपाली टोली भारतको बैंगलौरतर्फ प्रस्थान गर्नेछ । २१ जुनदेखि शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपमा नेपाल आयोजक भारत, कुवेत र पाकिस्तानसँगै समूह ए मा परेको छ । त्यस्तै समूह बी मा भने लेबनान, माल्दिभ्स, बंगलादेश र भुटान रहेका छन् ।

 

Post Comments