International युरो कपः इङल्याण्ड र स्पेन क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उपाधिको दुई बलियो प्रत्याशी इङल्याण्ड र पूर्व विजेता स्पेन जारी युइएफए युरोको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तेस्रो प्रिक्वाटरफाइनलतर्फ इङल्याण्डले स्लोभाकियामाथि २–१ को रोमाञ्चक जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्यो । यद्यपि जितका लागि इङल्याण्डलाई निकै संघर्ष गर्नुपर्यो ।

खेलको २५औं मिनटमा इभान स्रान्जले स्लोभाकियाका लागि गोल गर्दै टोलीलाई अप्रत्याशित अग्रता दिलाए । खेलमा फर्कन इङल्याण्डलाई अन्तिमसम्म संघर्ष गर्नुपर्यो ।

इन्जुरी समयमा ज्युड बेलिंघमले इङल्याण्डका लागि बराबरी गोल फर्काए । त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलियो । अतिरिक्त समयको ९१औं मिनटमा कप्तान हेरि केनले निर्णायक गोल गर्दै इङल्याण्डको क्वाटरफाइनल स्थान सुरक्षित गरे ।

अब इङल्याण्डले ६ जुलाईका दिन हुने तेस्रो क्वाटरफाइनलमा स्वीजरल्याण्डको सामना गर्नेछ । स्वीजरल्याण्डले शनिबार राती मात्रै साविक विजेता इटालीलाई हराउँदै अन्तिम आठको यात्रा तय गरिसकेको छ ।

त्यस्तै चौथो प्रिक्वाटरफाइनलमा स्पेनले जर्जियाको चुनौति ४–१ ले समाप्त पार्यो । स्पेनले ५ जुलाईका दिन हुने पहिलो क्वाटरफाइनलमा दावेदार मानिएको आयोजक जर्मनीको सामना गर्नेछ ।

Post Comments