
काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबलमा आफूलाई व्यस्त राखेको दक्षिण एसियाली राष्ट्र भुटानले मंगलबार खेलेको दुई खेल मध्ये एकमा हार र अर्कोमा शानदार जित हात पारेको छ् ।
घरेलु मैदान मै भुटान मै सम्पन्न ट्राई नेशन सिरिज अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत भुटानले मलेसियासँग १–३ को हार बेहोरेको हो । स्मरण रहोस, भुटानले सिरिजको पहिलो खेलमा बलियो हङ्गकङ्गसँग गोलरहित बराबरी खेलेको थियो ।
एएफसी महिला एसियन कप छनौट खेल्ने तयारीमा रहेको भुटान महिला एसियन कपको छनौट पतियोगितातर्फ समूह ए मा परेको छ । जहाँ भुटानले आयोजक जोर्डनसँगै इरान, सिंगापुर र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।
भुटानको यु–२० महिला टोलीको शानदार जित
त्यस्तै एएफसी यु–२० महिला एसियन कप छनौटको तयारीमा रहेको भुटानको यु–२० महिला फुटबल टोली हाल साउदी अरेबियाको भ्रमणमा छ । भ्रमण अन्तर्गत भुटानले मंगलबार दोस्रो मैत्रीपूर्ण फुटबल म्याच खेल्यो ।
किंग फहद स्टेडियममा भएको खेलमा भुटानको यु–२० महिला फुटबल टोलीले साउदीको यु–२० महिला फुटबल टोलीलाई ५–० को फराकिलो अन्तरले हरायो । भुटानले यसअघि सोही मैदानमा भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि साउदीमाथि ३–० को प्रभावशाली जित हात पारेको थियो ।
स्मरणीय छ, एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ भुटान समूह ए मै परेको छ । जहाँ भुटानले नेपालसँगै उत्तर कोरिया, साउदी अबरेयिा र मंगोलिया रहेका छन् ।