News फुटबलमा डोनाको 'कमब्याक', नेशनल टिम 'टार्गेट'
सुरज राना मगर

बुटवल । दुई बर्ष अघि मनाङ मस्र्याङ्दी क्लबलाई लिग च्याम्पियन बनाउँदा टोलीका अहम सदस्य रहेका डोना थापा सोही लिगका क्रममा चोटिल बन्न पुगेका थिए । 

डोनाका लागि त्यो चोटिल कति महँगो भईदियो भने उनी लामो समय अर्थात करिब दुई बर्ष मैदान बाहिर रहनुपर्यो । डोना भन्छन्, “त्यो दुई बर्ष फुटबलबाट टाढा रहँदा मेरो लागि निकै कठिन समय भईदिएको थियो ।”

तर, रुपन्देहीमा मात्र नभएर राष्ट्रियस्तरमै आफ्नो अब्बलता साबित गरेका डोना दुई बर्षपछि फेरि मैदानमा फर्किएका छन् । त्यो पनि आफैले बनाएको र साना भाईहरुलाई प्रशिक्षण दिईरहेको बाल्यकालको क्लब सितलापुर युवा क्लबका लागि खेल्दै । 

संयोग कस्तो भने उनले मैदान फर्किए कै खेलमा सुन्दर फ्रिकिक गोल समेत गरे । रुपन्देहीमा जारी प्रथम आदर्श कप खेल्न सोमबार मैदानमा उत्रिएका डोनाले आफ्नै कप्तानीमा टोलीलाई हिमालय एफसी विरुद्ध २–१ को जित दिलाए । सो खेलमा डोनासँगै उनका भाई एरोन थापाले पनि गोल गरे ।

चोटपछि बल्झिएको पिडा

मनाङमा शानदार तीन बर्ष बिताएका डोनाले लिगसँगै सिक्किममा सम्पन्न प्रतिष्ठित गभनर्स गोल्डकपको उपाधि पनि जितेका थिए । सिक्किममा भएको सो खेलमा इण्डियन सुपर लिग क्लब एटलेटिको डि कोलकाता विरुद्ध सेमिफाइनलमा गरेको ह्याट्रिकलाई उनी अझै पनि अविस्मरणीय मान्छन् ।

डोना भन्छन्, “ह्याट्रिक मेरो  लागि मात्र नभएर टोलीकै लागि विशेष थियो । हामी उपाधि पनि जित्न सफल भयौं । टोलीको सफलता नै मेरो पहिलो प्राथमिकता थियो । त्यसमै खुशी पनि मनाएँ ।” 

लिगका बेला चोटिल बनेका डोनाले आर्थिक समस्या पनि बेहोर्नू परेको कुरा खुलाए । डोनाका अनुसार घुँडाको शल्यक्रिया गर्न मनाङले उपचार खर्च बेहोरेको थियो । उनको शल्यक्रिया काठमाडौं स्थित ग्राण्डी अस्पतालमा भएको थियो । त्यसका लागि डोना क्लबप्रति सधै आभारी पनि रहेको बताउँछन् । 

त्यसयता उनले रिह्याबमा पनि खर्च भएको बताए । रिह्याबकै लागि भारतको पञ्जाबसम्म पनि पुगेका डोना भन्छन, “रिह्याबका लागि ६ महिनामा चार लाख भन्दा बढी खर्च भयो । फुटबलमा फर्किने ठूलो सपना थियो । त्यसैले पनि आफ्नो करियरलाई पैसासँग तुलना गर्न सकिन । पहिला करियरका लागि आफूलाई फिट बनाउन रिह्याबतिर लागें । अहिले पूर्ण फिट हुँदैछु ।”

साथै डोनाले आफूलाई यो परिस्थितिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन पनि बिर्सेनन् । भन्छन्, “परिवारको साथ त छँदै थियो । त्यसमा पनि मलाई फेरि मैदानमा फर्किन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुप्रति म मनैदेखि धन्यवाद दिन चाहन्छु । यो अवस्थामा आइपुगेर म अहिले खुशी पनि छु ।”

भारतीय क्लबबाट खेल्ने सम्भावना पनि कायम

डोनाका अनुसार चोटिल भएपछि रिह्याब कै  लागि भारत बसाईका क्रममा उनलाई त्यहाँको क्लबबाट पनि प्रस्ताव आएको बताए । उनी अगाडी भन्छन्, “मेरो त नेपालकै घरेलु फुटबल खेल्ने पहिलो प्राथमिकता हो । तर भारतीय क्लबबाट पनि प्रस्ताव आएको छ । त्यता पनि जान सक्छु । 

नेपालको घरेलु फुटबलमा नेपाल पुलिस क्लबबाट खेल्दै मोरङ, रुपन्देही, जावलाखेल युथ क्लब हुँदै मनाङ मस्र्याङ्दी क्लब सम्म पुगेका डोनाले घरेलु फुटबलमा खेल्न पाउँदा आफूलाई सधै भाग्यमानी पनि ठान्छन् । डोनाको बिचारमा आफ्नै देशमा व्यवसायीक फुटबल खेल्नु पनि राम्रो अवसरका रुपमा रहेको बताउँछन् । 

टार्गेट नेशनल टिम

लामो समयपछि मैदान फर्किएका डोनाको लक्ष्य पनि अन्य खेलाडीसरह नै राष्ट्रिय टोलीमा पर्नु रहेको छ । उमेर समूहतर्फ सन् २०१५ मा नेपाललाई घरमै सम्पन्न साफ यु–१९ च्याम्पियनसिपको उपाधि जिताएका डोनाले राष्ट्रिय टोलीलाई आफ्नो ‘टार्गेट’ बनाएका छन् । 

राष्ट्रिय टोलीमा पर्नु त्यति सहज नभएको कुरा डोनालाई पनि थाहा छ । तर उनी आफ्नो लक्ष्यप्रति टक्क अडिएका छन् । डोना अगाडी भन्छन्, “राष्ट्रिय टोलीमै फर्किने टार्गेट छ । ढिलो चाँडो टोलीमा पर्छु भन्ने विश्वास पनि छ । त्यसका लागि म अब कडा अभ्यास र प्रयास पनि गर्नेछु ।” 

नेपाली फुटबलप्रति सकरात्मक छन् डोना

नेपाली फुटबल सोंचे जस्तो गतिमा नचलिरहे तापनि डोना भने नेपाली फुटबलप्रति सधै सकरात्मक छन् । उनले आगामी दिनहरुमा नेपालको घरेलु फुटबलले पनि राम्रो लय समाउने र विकासको गति लिनेमा पनि उनी आशावादी छन् । 

कुराकानी कै क्रममा डोना भन्छन्, “नेपाली फुटबलले केही लय गुमाएको हुन सक्छ । नेतृत्व जस्तो भए पनि आउने दिनहरुमा नेपाली फुटबलले राम्रो गर्ने सपना देखेको छु । फुटबल खेलाडी भएकै नाताले पनि होला नेपाली फुटबलप्रति म सधै सकरात्मक छु ।” 

Post Comments