News आयोजक आदर्श र न्यु एभरेष्ट क्वाटरफाइनलमा
सुरज राना मगर

सैनामैना । आयोजक आदर्श युवा क्लब र न्यु एभरेष्ट युवा क्लब जारी प्रथम आदर्श कप नाईन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

मंगलबार सैनामैना–४ स्थित आयोजक आदर्श युवा क्लबको खेलमैदानमा भएको खेलमा आयोजक आदर्श युवा क्लबले मुनलाईट फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको पहिलो मिनटमै बिशाल पुनको गोलबाट अग्रता बनाएको आदर्शले त्यसलाई अन्तिमसम्म जोगाउन सकेन । 

उता मुनलाईटका लागि ५३औं मिनटमा साजन परियारले बराबरी गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने आदर्शले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलको म्यान अफ द म्याच आयोजक कै गोलरक्षक मिलन सारु घोषित भए । उनलाई समाजसेवी मित्र बहादुर क्षेत्रीले पुरस्कृत गरे । 

न्यु एभरेष्ट पनि क्वाटरफाइनलमा

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा न्यु एभरेष्ट युवा क्लबले स्वावलम्ब युवा क्लबलाई ३–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । खेलमा विपक्षीका कप्तान लोकेन्द्र सिंजालीको आत्मघाती गोलबाट न्यु एभरेष्टले खेलमा अग्रता लिएको थियो । 

३०औं मिनटमा अशोक बुढाथोकीले एभरेष्टको त्यो अग्रता दोब्बर पारे । त्यस्तै दोस्रो हाफतर्फ ५५औं मिनटमा कुमार घर्ती मगरले तेस्रो गोल गर्दै एभरेष्टको जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच एभरेष्टका अशोक बुढाथोकी घोषित भए । 

बुधबारबाट एक खेल मात्र हुने

प्रतियोगिता अन्तरगत माघ ७ गतेदेखि एक मात्र खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत बुधबारको खेल फर्साटिकर युवा क्लब र हरिहरपुर एफसीबीच हुने खेल संयोजक बिकास बस्नेतले बताए ।

आदर्श युवा क्लब, सैनामैना–४ मुर्गियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कोषराज बस्नेतले बताए । फाइनल खेल माघ १५ गतेका दिन हुनेछ ।

Post Comments