News गजराज जोशी स्मृति कपमा वडा नम्वर १ को जित
गोलनेपाल

काठमाडौं । टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर १ ले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको दोस्रो दिन मंगलबार वडा नम्वर १ ले वडा नम्वर ४ माथि १–० को जित निकालेको हो ।

टोखास्थित भुतखेल मैदानमा वडा नम्वर १ को जितमा अनिल अधिकारीले ५०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि मंगलबार नै भएको खेलमा वडा नम्वर २ र वडा नम्वर ८ ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ । लिगकम नकआउटको आधारमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

पोल ‘ए’ मा वडा नम्वर ३, ६ र ७ तथा पोल ‘बी’ मा १, २, ४ र ८ वडा रहेको छ । एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा भएको प्रतियोगितामा बुधबार दुई खेल हुनेछ । वडा नम्वर ३ र ६ तथा वडा नम्वर १ र २ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता १३ माघसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ ।

Post Comments