News वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
गोलनेपाल

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ अरनीको खेलमैदान दाङमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा सम्पन्न दाङ जिल्लाकै सर्वाधिक धनराशि साथै देशकै प्रतिष्ठित दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता अन्तर्गत शनिबार वडा नम्बर १२ र १८ बीच फाइनल खेल सम्पन्न भएको छ।

शनिबार भएको उक्त फाइनल खेल निर्धारित समय एक एक गोलको बराबरीमा रोकिए पश्चात पेनाल्टी सुटआउट हुँदै सडन डेथमा धकेलिएको थियो। खेलको ६९ औ मिनेटमा सुगम चौधरीको गोलमा अग्रता बनाएको वडा नम्बर १२ अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा पराजित बन्न पुगेको हो। वडा नम्बर १८ का लागि खेलको अन्तिम मिनेटमा रबिन चौधरी (B)ले उत्कृष्ट गोल गर्दै खेलमा फर्काएका थिए।

पेनाल्टी सुटआउट र सडन डेथगरी दुबै टोलीबाट कुल आठ आठ प्रहार हुँदा ७ - ६ को नतिजामा वडा नम्बर १८ विजेता बन्न सफल भएको हो। वडा नम्बर १८ गोल रक्षक नवीन परियारले जुहेन मगर र नबिन ओलीको प्रहारलाई रोक्दै आफ्नो टिमलाई विजेता बनाउन सफल भएका छन्। उता पराजित भएको वडा नम्बर १२ का गोल रक्षक नारायण मगरले विवेक मगरको प्रहारलाई रोकेता पनि आफ्नो टिमको हारलाई रोक्न सकेनन्।

उक्त खेलको म्यान अफ दि म्याच वडा नं १८ का गोल रक्षक नवीन परियार बन्दै नगद रु. १५०० सहित ट्रफी प्राप्त गरेका छन्। साथै उक्त प्रतियोगिताको सबैभन्दा उत्कृष्ट गोल रक्षक बन्दै नगद रु.५००० पनि प्राप्त गरेका हुन्।

उक्त प्रतियोगिताको सबैभन्दा धेरै गोल गर्ने खेलाडी वडा नम्बर १२ का सुवास मगर उक्त प्रतियोगिताको सबैभन्दा उत्कृष्ट डिफेन्डर वडा नम्बर १८ का विप्लव डाँगी त्यसैगरी उक्त प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर वडा नम्बर १८ का निशान खड्का बनेका हुन्। व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीहरूले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन्। साथै उक्त प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी वडा नम्बर १२ का करन बस्नेत बन्दै नगद रु ८००० प्राप्त गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटा वडाहरूमध्ये १६ वटा वडाहरूको सहभागिता भएको उक्त प्रतियोगिताको विजेता टोली वडा नम्बर १८ ले नगद रु. २,६६,६६६ रुपैया सहित चाँदी जडित रनिङ ट्रफी प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको वडा नम्बर १२ ले १,६६,६६६ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। पुष ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल पुष १२ भव्यताका साथ सम्पन्न भएको छ।

Post Comments