दुहबी । एकतर्फी जितका साथ मधेसा युवा क्लब, सुनसरी यहाँ जारी सिमरिया च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा मधेसाले युथ इलेभन फुटबल क्लब, दुहबीलाई ८–० को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
मधेसाको जितमा निवेश फुयाल र युबिन राईले समान दुई–दुई गोल गरे । त्यस्तै थप चार गोल भने करण चौधरी, कोमल खवास, शिशिर लेखी र मनि मगरको नाममा रह्यो ।
खेलको म्यान अफ दि म्याच मधेसा कै युबिन राई चुनिए । उनलाई खेलका प्रमुख अतिथी दुहबी नगरपालिकाका पूर्व खेलाडी तथा समाजसेवी देव चरण बहरदारले नगद र ट्रफीसहित पुरस्कृत गरे ।
अब असार ३२ गते हुने फाइनलमा मधेसाले आयोजक संयुक्त युवा क्लब, सिमरियासँग उपाधिका लागि फाइनल खेल्नेछ । संयुक्तले आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा नेताचोक टाईगर क्लब, मोरङलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।
संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ ।